Loading...
Homearticlesनेपाल सरकारको जिन्सी स्रेस्ता प्रणाली

नेपाल सरकारको जिन्सी स्रेस्ता प्रणाली

पृष्ठभूमि

कार्यालयमा रहेका सरकारी सम्पत्तिको सुरक्षा गर्न एवं कर्मचारीहरूको जिम्मेवारी निर्धारण गर्दै जवाफदेहिता प्रवर्धन गर्न सरकारी सम्पत्तिको जिम्मा एवं त्यसको व्यवस्थित अभिलेख (लगत) र संरक्षणको व्यवस्था मिलाइएको हुन्छ। जिन्सी व्यवस्थापनको सन्दर्भमा कार्यालय प्रमुख जिम्मेवार व्यक्तिका रूपमा रहेको हुन्छ भने सम्बन्धित मन्त्रालयको सचिव लेखा उत्तरदायी अधिकृतको रूपमा रहेको हुन्छ। कुनै पनि कार्यालय सञ्चालनको लागि सम्पत्ति तथा जिन्सी मालसमानको अपरिहार्यता हुने गर्दछ। कार्यालयले सम्पत्ति तथा जिन्सी मालसमानमा ठूलो लगानी गरेको हुन्छ। जिन्सी शब्द अरबी भाषाको जिनिस शब्दबाट आएको हो जसको अर्थ नगद बाहेकको मालसमान वा वस्तु वा समग्रीलाई जनाउँछ। सरकारी निकायहरूमा के, कस्ता मालसामानहरू प्राप्त भई के प्रयोजनमा उपयोग गरिएको छ भनी स्पष्टसँग अभिलेख राख्ने लेखा नै जिन्सी स्रेस्ता हो। नेपालमा जिन्सी स्रेस्ताको सुरुवात संवत् २०२० माघ १ देखि भएको हो।

परिचय

सम्पत्ति तथा जिन्सी मालसामानको अभिलेख राख्ने स्रेस्ता नै जिन्सी स्रेस्ता हो। अर्थात् सरकारी कार्यालयमा विभिन्न स्रोतबाट प्राप्त हुने सामानहरूको अभिलेख राख्ने स्रेस्ता प्रणाली नै जिन्सी स्रेस्ता प्रणाली हो। यस प्रणालीभित्र विभिन्न स्रोतबाट मालसामान प्राप्त गर्ने, मालसामानको वर्गीकरण गर्ने, अभिलेख राख्ने एवं सारांश निकाली प्रतिवेदन गर्नेसम्मका समग्र क्रियाकलापहरू पर्दछन् । सरकारी सम्पत्ति जिम्मा लिने सम्बन्धमा जिन्सी मालसामान तथा तत्सम्बन्धी स्रेस्ता उपलब्धि सञ्चय अधिकृत वा भण्डार अधिकृत वा भण्डार सहायकको जिम्मामा रहने व्यवस्था छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा जिन्सी मालसामानको स्रेस्ता महालेखापरीक्षकको कार्यालयबाट स्वीकृत ढाँचामा महालेखा नियन्त्रक कार्यालयले तयार गरेको निर्देशिकाबमोजिम राख्नुपर्ने उल्लेख छ। हाल नेपाल सरकारले जिन्सी स्रेस्ता प्रणालीमा म.ले.प.फा.नं. (महालेखापरीक्षक फाराम नम्बर) ४०१ देखि ४१८ सम्मका १८ वटा फाराम प्रयोगमा ल्याएको छ।

जिन्सी स्रेस्ता प्रणालीको महत्व

जिन्सी मालसामानको प्राप्ति, भण्डारण, उपयोग तथा सोबाट अपेक्षित उपलब्धि हासिल गर्ने, सरकारी सम्पत्तिको संरक्षण र उपयोग गर्ने, कार्यसञ्चालन व्यवस्थापनलाई प्रभावकारी बनाउने सन्दर्भमा जिन्सी स्रेस्ता प्रणालीको महत्वपूर्ण भूमिका रहेको छ। जिन्सी स्रेस्ता प्रणालीको प्रयोगबाट देहायबमोजिम महत्व रहेको पाइन्छः

  • सरकारी सम्पत्ति तथा जिन्सी मालसामानको अभिलेख व्यवस्थित राख्न,
  • सम्पत्ति तथा जिन्सी मालसामानको सुरक्षा गर्न,
  • सम्पत्ति तथा जिन्सी मालसामानको समुचित व्यवस्थापन गर्दै सेवा प्रवाहमा सहजता ल्याउन,
  • मालसमानको अभिलेखबाट नीति निर्मातालाई सूचना प्रदान गर्न,
  • मालसमानको हिनामिना हुन नदिई संरक्षण गर्न,
  • आवश्यकताअनुसार मालसमान उपलब्ध गराउन वा अभाव हुन नदिन,
  • अनावश्यक मालसमानको खरिदमा नियन्त्रण गर्न,
  • काम नलाग्ने समान पहिचान गरी मर्मत वा लिलाम गर्न सहयोग गर्न,
  • आर्थिक प्रतिवेदन तयार गर्न सूचना दिन,
  • मौज्दात र खर्चको यथार्थ स्थिति देखाउन,
  • जिन्सी व्यवस्थापनको कार्यदक्षतामा अभिवृद्धि गर्न।

मालसामानको वर्गीकरण

कार्यालयहरूमा मुख्यतः दुई प्रकारको मालसामान प्रयोग हुने सामानहरूलाई चालु एवं पूँजीगत गरी दुई भागमा वर्गीकरण गरिएको छ। नेपाल सरकारको जिन्सी स्रेस्ता प्रणालीअनुसार कुनै पनि जिन्सी मालसामानलाई खर्च भएर जाने एवं खर्च भएर नजाने गरी दुई भागमा वर्गीकरण गरिएको छ।

खर्च भएर जाने मालसामान अन्तर्गत एक वर्षभन्दा कम अवधि खप्ने, एकपटक प्रयोग गरेपछि पुनः प्रयोग गर्न नसकिने, साधारणतया प्रति एकाइ रु.५०००।- भन्दा कम पर्ने, लिलाम गर्दा खासै रकम प्राप्त नहुने मालसामान पर्दछन्। जस्तैः पर्दा, कापी, कलम, डटपेन, पेन्सिल, फोटोकपी पेपर आदि। यो खाता म.ले.प.फा.नं. ४०७ अन्तर्गत रहेको छ भने हरेक वर्ष गत वर्षको मौज्दात जिम्मेवारी सारी नयाँ खाता राख्ने गरिन्छ।

खर्च भएर नजाने मालसामान अन्तर्गत एक वर्ष भन्दा बढी खप्ने समान, साधारणतया प्रति इकाई रु. ५०००।- भन्दा बढी मूल्य पर्ने खप्ने, लिलाम गर्दा केही रकम प्राप्त हुने मालसमान खर्च भएर नजाने खातामा अभिलेख राखिन्छ। जस्तैः सवारी साधन (कार जीप, भ्यान आदि), फर्निचर (टेबल, कुर्सी, दराज आदि), मेसिनरी औजार (कम्प्युटर, ल्यापटप, फोटोकपी मेसिन, प्रिन्टर आदि) आदि मालसामान यसका उदाहरण हुन्। यो खाता म.ले.प.फा.नं. ४०८ अन्तर्गत रहेको छ भने अभिलेख १० वर्षसम्मको लागि राखिन्छ त्यसपछि जिम्मेवारीसहित अर्को खातामा सार्ने गरिन्छ।

जिन्सी लेखापालन भित्र पर्ने कार्यहरू

जिन्सी लेखापालन व्यवस्थापनको एउटा महत्वपूर्ण कार्य हो। यसअन्तर्गत निम्न कार्यहरू पर्ने गर्दछन्ः
(क) आवश्यकता पहिचानः कार्यालय/निकायलाई आवश्यक पर्ने जिन्सी सामानको पहिचान गर्ने, विवरण तयार गर्ने, स्पेसिफिकेसन तयार गर्ने लगायतका कार्यहरू गर्नुपर्दछ। यसका लागि भौतिक व्यवस्थापन, सामानको उपलब्धता समेतलाई विचार पुऱ्याउनुपर्दछ।

(ख) खरिद प्रक्रिया छनोटः जिन्सी लेखापालन भित्र पर्ने काम मध्ये सबैभन्दा महत्वपूर्ण काम खरिद सम्बन्धी काम हो। सार्वजनिक खरिद ऐन, २०६३ एवं नियमावली, २०६४ अनुसार सार्वजनिक निकायले एक वर्षभन्दा बढी अवधिसम्म सञ्चालन हुने योजना वा आयोजनाको लागि खरिद गर्दा वा वार्षिक दश करोड रुपैयाँभन्दा बढी रकमको खरिद गर्दा खरिदको गुरुयोजना तयार गर्नुपर्ने एवं सार्वजनिक निकायले वार्षिक दश लाख रुपैयाँभन्दा बढी रकमको खरिद गर्नुपर्ने भएमा आगामी आर्थिक वर्षको अनुमानित वार्षिक कार्यक्रम तथा बजेट तयार गर्दा आगामी आर्थिक वर्षमा गर्ने वार्षिक खरिद योजना तयार गर्नुपर्ने व्यवस्था छ।

त्यस्तै दश लाख रुपैयाँसम्मको मालसामान सोझै खरिद गर्न सक्ने, दश लाखदेखि बीस लाख रुपैयाँसम्म सिलबन्दी दरभाउपत्रबाट खरिद गर्नुपर्ने एवं बीस लाख रुपैयाँभन्दा बढीको मालसामान भएमा बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने व्यवस्था रहेको छ।

(ग) भण्डार अभिलेखः जिन्सी लेखापालनभित्र पर्ने अर्को काम नियमबमोजिम खरिद भै आएका मालसामानहरूमध्ये कुन मालसामान खर्च भएर जाने हो, कुन सामान खर्च भएर नजाने हो छुट्याउनुपर्दछ र सोहीबमोजिम खाताहरूमा अभिलेख राख्नुपर्दछ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादयित्व नियमावली, २०७७ अनुसार कार्यालय प्रमुखले आफ्नो कार्यालयमा रहेको र खरिद गरी वा नगरी वा कुनै प्रकारले हस्तान्तरण भई वा वस्तुगत सहायता वा अन्य कुनै प्रकारबाट प्राप्त हुन आएको जिन्सी मालसामानको विवरण र मूल्यसमेत खुलाई जिन्सी किताबमा सात दिनभित्र आम्दानी बाँधी स्रेस्ता खडा गरी अद्यावधिक गरी राख्नुपर्दछ।

लगत तयार गर्ने र लगत बमोजिमको जिन्सी मालसामान जिम्मा लिने अभिभारा कार्यालय प्रमुखको रेखदेखमा उपलब्ध सञ्चय अधिकृत, भण्डार अधिकृत वा भण्डार सहायकको हुनेछ। उपलब्ध सञ्चय अधिकृत, भण्डार अधिकृत वा भण्डार सहायक नभएको कार्यालयमा यस्तो जिम्मेवारी कार्यालय प्रमुखले तोकेको कर्मचारीको हुनेछ।

प्राविधिक काममा प्रयोगमा ल्याइने जिन्सी मालसामानको हकमा लगत तयार गर्दा सम्बन्धित कार्यालयका प्राविधिक कर्मचारीबाट जाँच गरी के, कस्तो अवस्थामा त्यस्तो मालसामान प्राप्त भएको हो प्रमाणित गराई सो कुरा कैफियत जनाई लगत खडा गर्नुपर्दछ।

सम्पत्तिको मूल्य कायम गर्दा कार्यालय प्रमुखले निर्णय गरी कायम गर्न सक्ने व्यवस्था छ। सम्पत्तिको मूल्य कायम गर्न नसकिएमा मन्त्रालय, केन्द्रीय निकाय र विभागको हकमा सम्बन्धित केन्द्रीय निकाय वा विभागको प्रमुखले तोकेको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको अधिकृत कर्मचारी, एक जना प्राविधिक कर्मचारी, महालेखा नियन्त्रक कार्यालयको अधिकृत प्रतिनिधि र भण्डार शाखा प्रमुख रहेको समिति गठन गरी सो समितिको सिफारिस र सो बाहेक अन्य कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुख, सम्बन्धित जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधि, कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि र कार्यालय प्रमुखले तोकेको प्राविधिक कर्मचारीसमेत रहेको समिति गठन गरी सो समितिले निर्धारण गरेको मूल्यलाई नै त्यस्तो सम्पत्ति वा जिन्सीको मूल्य मानिने, वैदेशिक सहायतामा प्राप्त मालसामानको समेत मूल्यसमेत देखिने गरी लगत राख्दै आर्थिक विवरणमा समेत समावेश गर्नुपर्ने व्यवस्था छ।

(घ) खर्चको निकासाः विभिन्न स्रोतबाट प्राप्त भएका मालसामानको अभिलेखीकरण गरिसकेपछि प्राप्त मालसामान आवश्यकता अनुसार खर्च गर्ने गरिन्छ र सो क्रममा निकासासम्बन्धी काम यस लेखा प्रणालीमा शुरु गरिन्छ। जिन्सी लेखामा मालसामान आम्दानी बाँधिसकेपछि कुनै पनि मालसामान निकासा गर्न त्यसको माग फाराम अधिकार प्राप्त अधिकारीबाट स्वीकृत नगराई भण्डारबाट निष्कासन गरिदैन। निकासासम्बन्धी काम गर्दा स्वीकृत माग फारामको आधारमा सामान उपलब्ध गराई मागफाराममा मालसामान माग गर्ने एवं बुझ्ने कर्मचारीको हस्ताक्षर स्पष्ट हुनुपर्दछ।

(ङ) जिन्सी निरीक्षणः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९९ अनुसार कार्यालय प्रमुखले यस नियमावलीबमोजिम लगत खडा गरी अभिलेख राखिएको सम्पत्ति तथा जिन्सी मालसामानको मौजुदा अवस्थाको सम्बन्धमा वर्षमा कम्तीमा एक पटक आफै वा त्यस्तो मालससामान जिम्मा लिने कर्मचारीबाहेक अन्य कर्मचारीको नेतृत्वमा कम्तीमा तीन सदस्यीय समिति गठन गरी सो समितिबाट निरीक्षण गरी गराई महालेखापरीक्षकबाट स्वीकृत ढाँचामा सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदन लिनुपर्नेछ।

जिन्सी निरीक्षण प्रतिवेदनमा देहायका कुरा खुलाउनुपर्ने व्यवस्था छः

  • सम्पत्ति तथा जिन्सी किताबमा आम्दानी बाँधिएको सम्पत्ति तथा जिन्सी मालसामानको सङ्ख्या र मौजुदा अवस्था,
  • सम्पत्ति तथा जिन्सी किताबमा आम्दानी नबाँधिएको सम्पत्ति तथा जिन्सी मालसामान फेला परेमा सोको सङ्ख्या र मौजुदा अवस्था,
  • सम्पत्ति तथा जिन्सी मालसामानको संरक्षण र सम्भार भए वा नभएको व्यहोरा,
  • मर्मत सम्भार गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको विवरण,
  • टुटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, मर्मत गरी पुनः प्रयाग गर्न सकिने भए तापनि सामानको पार्टपुर्जा नपाइने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको पच्चीस प्रतिशतभन्दा बढी खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने अवस्था भए वा नभएको व्यहोरा,
  • सम्पत्ति तथा जिन्सी मालसामानको प्रयोग भए वा नभएको, हानि-नोक्सानी भए वा नभएको र हानि-नोक्सानी भएको भए कसको लापरबाबाट भएको हो सोको विवरण,
  • एकै किसिमको सम्पत्ति तथा जिन्सी मालसामानमध्ये गत वर्ष उपयोग भएको परिमाण र चालु आर्थिक वर्षमा खरिद गरिएको परिमाणको तुलनात्मक विवरण,
  • सम्पत्ति तथा जिन्सी निरीक्षण सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयले तोकिदिएको अन्य कुरा।

यसरी प्रतिवेदन प्राप्त भएपछि कार्यालय प्रमुखले त्यस्तो प्रतिवेदनको एक प्रति तालुक कार्यालयमा पठाउनुपर्नेछ। तालुक कार्यालयले त्यस्तो प्रतिवेदनको विषयमा एक महिनाभित्र कुनै निर्देशन दिएमा कार्यालय प्रमुखले सो समेतलाई विचार गरी र सो अवधिभित्र कुनै निर्देशन प्राप्त नभएमा लिलाम बिक्री गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको हकमा नियमावलीबमोजिम लिलाम बिक्री गर्ने र मर्मत सम्भार गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामानको हकमा तीन महिनाभित्र मर्मत सम्भार गरिसक्नुपर्नेछ।

(च) जिन्सी मौज्दातको वार्षिक विवरणः जिन्सी लेखापालनमा पर्ने महत्वपूर्ण कार्यमध्ये मौज्दातको वार्षिक विवरण बनाउने काम महत्वपूर्ण एक काम हो। यसमा वर्षभरि सबै स्रोतबाट के कति मालसामान प्राप्त भए, के कति मालसामान खर्च भयो र कार्यालयमा के कति बाँकी छ भनी म.ले.प.फा.नं. ४१३ मा स्पष्ट प्रतिवेदन तयार गरिन्छ र उक्त प्रतिवेदन तालुक कार्यालयमा पठाउने गरिन्छ।

(छ) लिलाम सम्बन्धीः जिन्सी निरीक्षण गर्दा टुटफुट तथा वेकम्मा भई पुनः प्रयोग गर्न नसकिने, प्राविधिकबाट निरीक्षण गर्दा कुनै जिन्सी मालसमान मर्मत गरी पुनः प्रयोग गर्न नसकिने, प्राविधिकबाट निरीक्षण गर्दा कुनै जिन्सी मालसामान मर्मत गरी पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपुर्जा नपाइने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको पच्चीस प्रतिशतभन्दा बढी खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनी प्रतिवेदनमा उल्लेख भएको मालसामानहरू कार्यालय प्रमुखले जाँचबुझ गरी बढाबढको माध्यमबाट सार्वजनिक सूचना प्रकाशन गरी विक्रीगर्ने प्रक्रिया नै लिलाम बिक्री हो।

कार्यालय प्रमुख वा निजले तोकेको अधिकारीको लिखित आदेश बिना जिन्सी मालसामान लिलाम बिक्री वा हस्तान्तरण गर्नु गराउनु हुँदैन। जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लिखित बेकम्मा भई काम नलाग्ने देखिएका मालसामानहरू लिलाम बिक्री गर्ने, कर्तव्य कार्यालय प्रमुख वा निजले तोकेको अधिकारीको हुनेछ। जिन्सी निरीक्षण प्रतिवेदनको प्रतिवेदन कार्यालय प्रमुखबाहेक अरुले दिएको रहेछ भने लिलाम बिक्री गर्नु पर्ने जिन्सी मालसामानको सम्बन्धमा त्यस्तो जिन्सी मालसामान लिलाम बिक्री गर्ने अवस्थामा छ वा छैन कार्यालय प्रमुखले जाँची लिलाम बिक्री गर्नुपर्ने भनी ठहराएकोमा मात्र लिलाम बिक्री गर्नुपर्ने व्यवस्था छ।

लिलाम बिक्रीसम्बन्धी व्यवस्थाः

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायत्व नियमावली, २०७७ को परिच्छेद ११ को नियम १०६ देखि १०८ सम्म लिलाम बिक्रीसम्बन्धी निम्नानुसार व्यवस्था छः

(१) सम्पत्ति तथा जिन्सी निरीक्षण गर्दा टुटफुट तथा बेकम्मा भई पुनः प्रयोग गर्न सकिने मर्मत गराई पुनः प्रयोग गर्न सकिने भए तापनि सामानको पार्टपुर्जा नपाइने र मर्मत गर्दा उक्त सामानको बजार मूल्यको पच्चीस प्रतिशतभन्दा बढी खर्च हुने वा प्रविधि पुरानो भएको कारण प्रयोग गर्दा कार्यकुशलता घट्ने भनी सम्पत्ति तथा जिन्सी निरीक्षण प्रतिवेदनमा उल्लेख भएको सम्पत्ति तथा जिन्सी मालसामानमध्ये कार्यालय प्रमुखले लिलाम गर्नुपर्ने भनी ठहराएको मालसामान त्यस्तो प्रतिवेदन प्राप्त भएको मितिले एक महिनाभित्र लिलाम बिक्रीको प्रक्रिया शुरु गर्नुपर्ने।

(२) कार्यालयले बिक्री गर्ने निर्णय गर्दा निर्माण वा खरिद भएको मितिले सवारीसाधनको हकमा बीस वर्ष, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी, सर्भरलगायत सूचना प्रविधिजन्य मालसामानको हकमा पाँच वर्ष, फर्निचरको हकमा दश वर्ष र अन्य मेसिनरी औजारको हकमा पन्ध्र वर्षभन्दा कम अवधि भएको मालसामान प्राविधिकबाट निरीक्षण गराई प्रतिवेदन लिएर मात्र लिलाम गर्नुपर्ने वा नपर्ने यकिन गर्नुपर्ने।

(३) लिलाम बिक्री गर्ने निर्णय गर्दा तोकिएको अवधिभन्दा वढी अवधिको मालसामानको हकमा कार्यालय प्रमुखले भण्डार शाखा प्रमुख, आर्थिक प्रशासन प्रमुख र कार्यालयमा उपलब्ध भएसम्म सम्बन्धित मालसामानको जानकारी राख्ने कर्मचारीसमेतको राय लिनुपर्नेछ ।

(४) घर, जग्गाजस्ता स्थिर सम्पत्ति नेपाल सरकारको निर्णय बेगर लिलाम विक्री गर्न पाइने छैन। तर पुरानो घर भत्काई नयाँ बनाउन वा अन्य कुनै कारणले पुरानो घर भत्काउँदा निस्किएको सामग्री सम्बन्धित केन्द्रीय निकायको स्वीकृतिमा कार्यालय प्रमुखले लिलाम विक्री गर्न बाधा पुगेको मानिने छैन।

लिलाम गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कनः

लिलाम बिक्री गर्ने प्रयोजनको लागि सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्न देहायबमोजिमको एक समिति रहनेछः

(क) केन्द्रीय निकाय, विभाग र अन्य केन्द्रीयस्तरको कार्यालयको हकमा सम्बन्धित निकायको प्रमुखले तोकेको कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृत संयोजकत्वमा महालेखा नियन्त्रक कार्यालयले तोकेको अधिकृतस्तरको एक जना प्रतिनिधि र सम्पत्ति तथा जिन्सी मालसामानको बारेमा जानकारी भएको कुनै सरकारी निकायको विज्ञ कर्मचारी एक जना,

(ख) माथि उल्लिखित वाहेक अन्य कार्यालयको हकमा सम्बन्धित कार्यालयको प्रमुख वा निजले तोकेको अधिकृतको संयोजकत्वमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतस्तरको प्राविधिक कर्मचारी र कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि एक जना।

  • प्राविधिक कर्मचारी तोक्दा यथासम्भव सम्बन्धित सम्पत्ति तथा जिन्सी मालसामानको ज्ञान भएको कर्मचारी तोक्नु पर्नेछ।
  • समितिले विशेष प्रकृतिको सम्पत्ति तथा जिन्सी मालसामानको हकमा सम्बन्धित विषयको प्राविधिकको सहयोग लिई मूल्याङ्कन गर्न, गराउन सक्नेछ ।
  • लिलाम बिक्री गर्ने प्रयोजनको लागि सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्दा घट्दो हास कट्टी विधि प्रयोग गरी मूल्य कायम गर्नु पर्नेछ ।
  • नियम १०६ को उपनियमा (२) बमोजिमको अवधिभन्दा बढी अवधि भएको सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्दा कायम भएको परल मूल्यमा वा नियम ९६ बमोजिम कायम मूल्यमा उपनियम (४) बमोजिम हास कट्टी गरी हनु मूल्य कायम गर्नु पर्नेछ ।
  • नियम १०६ को उपनियम (२) बमोजिमको अवधिभन्दा कम अवधि भएको सम्पत्ति तथा जिन्सी मालसामाको मूल्य कायम गर्दा उपनियमा (१) बमोजिमको समितिले हास कट्टी पछिको मूल्यमा समान प्रकृतिको पुराना मालसामान बिक्री हुन सक्ने मूल्यलाई समेत विचार गरी न्यूनतम मूल्य सिफारिस गर्नु पर्नेछ।
  • नियम १०८ को उपनियमा (६) बमोजिम लिलाम बिक्री हुन नसकेको अवस्था भएमा उपनियमा (१) बमोजिमको समतिबाट सो सम्पत्ति तथा जिन्सी मालसामानको पुनः मूल्याङ्कन गराई लिलाम बिक्री मूल्य कायम गर्नु पर्नेछ।
    (८) भन्सार महसुल तिरेको सम्पत्ति तथा जिन्सी मालसामानको मूल्याङ्कन गर्दा भन्सार महसुलसमेत समावेश गरी कायम हुने मूल्यमा हास कट्टी गर्नु पर्नेछ ।

लिलाम बिक्री गर्ने विधिः

नियम १०७ बमोजिम मूल्य कायम भएको सम्पत्ति तथा जिन्सी मालसामान देहाय बमोजिम लिलाम बढाबढ गरी लिलाम बिक्री गर्नु पर्नेछः

(क) तीन लाख रुपैयाँसम्म मूल्य कायम भएको सम्पत्ति तथा जिन्सी मालसामान भए सात दिनको म्याद दिई लिलाम बिक्री गर्ने कार्यालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयमा सूचना टाँस गरेर,

ख) तीन लाख रुपैयाँभन्दा बढी दश लाख रुपैयाँसम्म मूल्य कायम भएको सम्पत्ति तथा जिन्सी मालसामान भए स्थानीयस्तरको पत्रिकामा पन्ध्र दिनको म्याद दिई सूचना प्रकाशन गरेर,

(ग) दश लाख रुपैयाँभन्दा बढी मूल्य कायम भएको सम्पत्ति तथा जिन्सी मालसामान भए राष्ट्रियस्तरको पत्रिकामा एक्काईस दिनको म्याद दिई सूचना प्रकाशन गरेर।

लिलामको लागि टाँस वा प्रकाशन गरिने सूचनालाई लिलाम बिक्री गर्ने कार्यालयको वेबसाइटमा समेत राख्नु पर्नेछ।

टाँस वा प्रकाशन गरिने सूचनामा खुलाउनु पर्ने विवरणः

(क) सम्पत्ति तथा जिन्सी मालसामानको विवरण,
(ख) सम्पत्ति तथा जिन्सी मालसामानको मूल्य,
(ग) सम्पत्ति तथा जिन्सी मालसामान लिलाम हुने स्थान, मिति र समय,
(घ) बढाबढ शुरु हने न्यूनतम मूल्य,
(ङ) लिलाम सकार गर्न डाँक बोल्नु अघि नै मूल्यको पाँच प्रतिशतले हुने नगद धरौटी राख्नु पर्ने कुरा र डाँक अङ्ग बढ्दै गएमा सोही अनुपातमा धरौटी थप गर्दै जानुपर्ने कुरा,
(च) लिलाम सकार गरेको सम्पत्ति तथा जिन्सी मालसामान उठाई लैजानु पर्ने अवधि,
(छ) अन्य आवश्यक कुराहरू।

यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बोलपत्रबाट लिलाम बिक्री गर्न मनासिब देखिएमा सम्पत्ति तथा जिन्सी मालसामा हेर्न सक्ने व्यवस्था मिलाई उपनियम (१) बमोजिमको म्याद दिई बोलपत्र आह्वान गर्न सकिनेछ। यसरी बोलपत्र आह्वान गरिएकोमा बोल अङ्कको दश प्रतिशतले हुने रकम बरबरको बैङ्क जमानत वा धरौटी खातामा रकम जम्मा गरेको भौचार बोलपत्र साथ राख्नुपर्नेछ। बोलपत्र माग गर्दा बोलपत्र खरिद र दाखिलासम्बन्धी कार्य सम्बन्धित कार्यालय र आवश्यक देखिएमा जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमा समेत व्यवस्था मिलाउनु पर्नेछ।

टाँस वा प्रकाशित भएको सूचना बमोजिम लिलाम सकार गर्न चाहने व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहायबमोजिमको रकम तिरी सम्बन्धित कार्यालयबाट सो कार्यालयको कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारीको दस्तखत र कार्यालयको छाप लागेको बोलपत्र फाराम किन्नु पर्नेछ।
(क) दश लाख रुपैयाँसम्म न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि एक हजार रुपैयाँ,
(ख) दश लाखभन्दा माथि जतिसुकै रकम न्यूनतम मूल्य कायम भएको बोलपत्रको लागि दुई हजार रुपैयाँ।

यस नियमबमोजिम लिलाम बिक्री गर्दा पहिलो पटक लिलाम बिक्री हुन नसकेमा उपनियम (१) बमोजिमको म्यादको आधा म्याद दिई पुनः लिलाम बिक्रीको कारबाही गर्नु पर्नेछ।

लिलाम बिक्रीको लागि पुनः बोलपत्र आह्वान गर्दा समेत बिक्री हुन नसकेमा कायम न्यूनतम मूल्यमा वार्ताद्वारा सोझै बिक्री गर्न सकिनेछ।

बिक्री हुन नसकेमा नियम १०७ को उपनियम (१) बमोजिमको समितिबाट पुनः मूल्याङ्कन गराई कायम मूल्यमा वार्ताद्वारा सोझै बिक्री गर्न सकिनेछ ।
उक्त प्रक्रियाबाट समेत बिक्री हुन नसकेमा कार्यलय प्रमुखले कोष तथा लेख नियन्त्रक कार्यालयको प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयको अधिकृत प्रतिनिधिको रोहवरमा वार्ताद्वारा लिलाम कबोल रकम कायम गरी सोझै बिक्री गर्नु पर्नेछ।

यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि लिलाम बिक्री वा वार्ताद्वारा सोझै बिक्री समेत हुन नसकेमा त्यसरी बिक्री हुन नसकेको सम्पत्ति तथा जिन्सी मालसामान विभागीय स्वीकृति लिई गैरनाफामूलक सीप विकास केन्द्र, प्राविधिक प्रशिक्षण केन्द्र, कुनै सामुदायिक शैक्षिक संस्था वा सामाजिक संस्थालाई हस्तान्तरण गर्न सकिनेछ ।

यस नियम बमोजिम कुनै सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री वा हस्तान्तरण हुन नसकेमा विभागीय निर्णयबाट त्यस्तो मालसामानको उचित व्यवस्थापन गरी लगत कट्टा गर्नुपर्नेछ ।

जिन्सी मालसामा लिलाम सकार गर्ने पक्षले सम्बन्धित कार्यालयले तोकेको अवधिभित्र लिलाम साकार गर्दा कबोल गरेको पूरा रकम नबुझाएमा वा त्यस्तो रकम बुझाई तोकिएको समयमा सालसामान नउठाएमा निजले राखेको धरौटी जफत गरी जफत रकम बराबरससम्म घटी कबोल भएको क्रमशः दोस्रो, तेस्रो वा चौथो घटीवालको कबोल अङ्ग स्वीकृत गर्न सकिने।

यस नियमावलीबमोजिम सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री भए वा नभएको सम्बन्धमा तालुक कार्यालयले वर्षको एक पटक निरीक्षण गरी प्रतिवेदन तयार गर्नुपर्नेछ।

निर्माण भएको भौतिक संरचना भत्काई सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री गर्दा भत्काउन लाग्ने खर्च र बिक्री गर्दा प्राप्त हुने रकमको प्रति एकाइ हुने रकम बढी हुन आएमा फरक रकमलाई नै लिलाम बिक्री मूल्य र भौतिक संरचना भत्काई साविक स्थान वा परिसरमा नयाँ संरचना निर्माण गर्नुपर्ने भएमा निर्माण कार्य सम्बन्धी बोलपत्रमा त्यस्तो संरचना भत्काउने कार्यलाईसमेत समावेश गर्नुपर्नेछ ।

लिलाम बिक्री गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको प्रकृति समेतलाई विचार गरी आवश्यक अनुसार प्याकेज बनाई लिलाम विक्री गर्न सकिनेछ ।

विदेशस्थित नेपाली नियोगमा रहेको लिलाम बिक्री गर्ने सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम विक्रीबाट प्राप्त हुने रकम भन्दा लिलाम बिक्रीको प्रक्रियामा लाग्ने खर्च बढी हुने भएमा सोको आधार र कारण खुलाई विदेशस्थित नियोगको लागि महालेखा नियन्त्रक कार्यालयले बनाएको कार्यविधिमा उल्लेख भए बमोजिम गर्नु पर्नेछ।

सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (Public Assets Management System-PAMS)

कार्यालयको सम्पत्तिको लेखाङ्कन गरी प्रतिवेदन गर्नको लागि लागू गरिएको सम्पत्ति अभिलेख प्रणाली नै PAMS हो। महालेखा नियन्त्रक कार्यालयबाट सम्पत्तिको एकीकृत प्रतिवेदन तयार गर्न सार्वजनिक सम्पत्ति व्यवस्पान प्रणाली तयार गरेको छ। यो प्रणाली तीनै तहका सरकारी कार्यालयले प्रयोग गर्ने गरी व्यवस्थापन गरिएको छ।

मिति २०७६।२।१५ मा महालेखापरीक्षक कार्यालयबाट स्वीकृत सम्पत्तिको संकेत (Chart of Account) को आधारमा सम्पत्तिको लेखाङ्कन तथा प्रतिवेदन गरिएको छ। महालेखा परीक्षकको कार्यालयबाट स्वीकृत म.ले.प.फा.नं. अनुसार नै सम्पत्तिको लेखाङ्कन तथा प्रतिवेदन तयार हुन्छ। २०७७ असार मसान्तसम्मको बाँकी सम्पत्तिहरू मध्ये खप्ने जिन्सी खाताको विवरणबाट खप्ने जिन्सी खातामा (म.ले.प.फा.नं. ४०८) र नखप्ने सम्पत्तिहरूको विवरणबाट नखप्ने जिन्सी खातामा (म.ले.प. फा.नं. ४०७) शुरुवात मौज्दातमा प्रविष्ट गर्नुपर्छ। २०७७।३।३१ सम्म मूल्य नखुलेको सम्पत्तिको हकमा मूल्य प्रविष्ट गर्ने ठाउँमा १ प्रविष्ट गर्ने र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार एक वर्षभित्र सम्पत्तिको मूल्याङ्कन गरी कायम मूल्य प्रविष्ट गनुपर्छ। आर्थिक वर्ष २०७६।७७ सम्मको घर जग्गाको विवरण प्रविष्ट खण्डको घरजग्गा लगत महालेखापरीक्षक फाराम नम्बर ४१७ मा भर्नुपर्छ ।

Public Asset Management System (PAMS) मा सम्पत्तिको लेखाङ्कन तथा प्रतिवेदन गर्न वा यसको प्रयोग गर्नका लागि http://pams.fcgo.gov.np/login ब्राउजरको प्रयोग गर्न सकिन्छ । कार्यालयहरूलाई उक्त प्रणालीको Username, Password सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाट उपलव्ध गराउने व्यवस्था रहेको छ।

नेपाल सरकारको सार्वजनिक सम्पत्तिको अवस्था

महालेखा नियन्त्रक कार्यालयले सञ्चालन गरेको सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) मा तीन वटै तहका सरकारका खर्च भएर जाने र खर्च भएर नजाने जिन्सी तथा सम्पत्तिहरू (घर जग्गा, फर्निचर, मेसिनरी औजार लगायत) को प्रविष्टि हुने गरेको छ। सरकारी भवन बाहेक अन्य निर्मित सम्पत्ति तथा पुराना सम्पत्तिको अभिलेख सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (PAMS) मा प्रविष्टि नभएकोले प्रविष्टि गरी तथ्याङ्क अद्यावधिक गर्ने प्रयोजनको लागि मूल्य नखुलेका सम्पत्तिहरूको मूल्य रू. १ कायम गरि प्रविष्टि गरिएको तर हालसम्म पनि अधिकांश निकायहरूले नियमानुसार मूल्याङ्कन गरी यथार्थ मूल्याङ्कन नगरेको तथा प्राकृतिक स्रोत साधनहरूको मूल्य निर्धारण गर्न नसकिएका जस्ता सीमाहरूले गर्दा सार्वजनिक सम्पत्तिहरूको वास्तविक मूल्य कायम गर्नमा कठिनाइ रहेको छ।

उक्त प्रणालीबाट प्राप्त तथ्याङ्कअनुसार नेपाल सरकारको मन्त्रालय वा निकायअन्तर्गतका कार्यालयहरूमा कुल सम्पत्ति रू.१ खर्व ५० अर्ब ९५ करोड ९१ लाख देखिएको छ। सबैभन्दा बढी गृह मन्त्रालयको ४४ अर्ब २८ करोड १७ लाख, रक्षा मन्त्रालयको ४१ अर्ब ४४ करोड ६३ लाख, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रू.८ अर्ब १८ करोड ३८ लाख देखिएको छ। सबैभन्दा कम दलित आयोगको २ करोड ५५ लाखको सम्पत्तिको मौज्दात बाँकी रहेको देखिन्छ ।

जिन्सी स्रेस्ता प्रणालीमा प्रयोग हुने फारामहरू

सर्वप्रथम संवत् २०२० आश्विन २९ मा स्वीकृत भई १३ वटा फाराम लागू भएकोमा सोमा परिमार्जन गर्दै संवत् २०६२ श्रावण १ बाट १२ वटा फारामहरू प्रयोगमा रहेका थिए। २०७६।२।१९ देखि महालेखापरीक्षक फाराम नम्बर ४०१ देखि ४१८ सम्म १८ वटा फाराम प्रयोगमा रहेका छन् । उक्त फारामहरूको संक्षिप्त परिचय देहायअनुसार छः

१. माग फाराम (म.ले.प.फा.नं. ४०१): यो फाराम कार्यालय प्रयोजनको लागि आवश्यक जिन्सी मालसामान माग गर्न प्रयोगमा ल्याइन्छ। माग फाराम प्राप्त भएपछि अख्तियारवालाले माग गरिएको मालसामान मौज्दातबाट वा बजारबाट खरिद गरिदिनू भन्ने आदेश भएपछि मालसामान निकासी गरिन्छ। जिन्सी खाताबाट मालसामान खर्च देखाउन यो फारामलाई आधार मानिन्छ ।

२. खरिद आदेश (म.ले.प.फा.नं. ४०२): यो फाराम ठेक्कापट्टाबाट खरिद हुने वा सानो नगदी कोषबाट खरिद हुने कम मूल्यका समानहरू बाहेक अन्य सामानहरू खरिद गर्दा प्रयोग गरिन्छ । कार्यालय अन्तर्गतका विभिन्न शाखाहरूबाट प्राप्त मागअनुसार खर्च लेखिदिन नपुग भएकोमा वा भण्डारमा राख्न पाउने मौज्दातभन्दा कम हुन लागेको अवस्थामा यो फाराम सम्बन्धित व्यक्ति वा फर्महरूसँग मालसामानको दररेट लिई तीन प्रति भरी अख्तियारवालासमक्ष पेस गरी स्वीकृत भएपछि एक प्रति विक्रेताकहाँ पठाई खरिद गरिन्छ । खरिद गर्न लागेको सामानको उपलब्ध भएसम्म स्पेसिफिकेसन उल्लेख गर्नुपर्छ। बिक्रेताबाट सामान प्राप्त भएपछि बुझिलिने भण्डारवालाले प्राविधिकबाट जँचाउनुपर्ने भए ऊँचाई आदेशमा लेखिएबमोजिमको स्पेसिफिकेसन र परिमाणबमोजिम भए नभएको जाँची हेरी बुझिलिनुपर्छ र कैफियत देखिएमा देखिएको व्यहोरा उल्लेख गरी बिक्रेतालाई लेखी पठाउनुपर्छ ।

३. दाखिला प्रतिवेदन फाराम (म.ले.प.फा.नं. ४०३): यो फाराम कार्यालयमा प्राप्त हुन आएको स्पेसिफिकेसन एवं परिमाणअनुसारको छ भनी प्रमाणित गरी आम्दानी बाँध्नको लागि प्रयोगमा ल्याइन्छ ।

४. खर्च/निकासा फाराम (म.ले.प.फा.नं. ४०४): माग भई आएका सामानको खर्च तथा निकासाको लागि प्रयोग हुने फाराम।

५. जिन्सी स्टोर फिर्ता फाराम (म.ले.प.फा.नं. ४०५): सामानको खर्च तथा निकासा पश्चात् फिर्ता अभिलेख गर्नका लागि यो फाराम भर्नुपर्दछ ।

६. हस्तान्तरण फाराम (म.ले.प.फा.नं. ४०६): यो फाराम जिन्सी सामानहरू एक कार्यालयबाट अर्को कार्यालयमा स्थायी रूपमा सामान पठाउँदा प्रयोग गरिन्छ। यो फाराम स्टोरकिपरले ३ प्रति तयार गर्नुपर्दछ। जसमध्ये २ प्रति बुझिलिने कार्यालयमा पठाउने र १ प्रति प्रमाणित भई आएपछि स्थायी भरपाई मानिन्छ ।

७. खर्च भएर जाने जिन्सी मालसमानको खाता (म.ले.प.फा.नं. ४०७): यो फाराम खर्च भएर जाने प्रकृतिका मालसामानहरूको आम्दानी, खर्च बाँकी देखिने अभिलेख राख्ने उद्देश्यले तर्जुमा गरिएको हो। फाराम भर्दा प्रत्येक मालसामानहरूको लागि अलग अलग पाना प्रयोग गरिने हुँदा मालसामानको नाम र सम्पत्ति वर्गीकरण संकेत नम्बर र सामानको इकाई जिन्सी सामानको नाममा उल्लेख गर्नुपर्छ। इकाईमा जिन्सी सामानहरू आम्दानी बाँध्दा खर्च हुने इकाईलाई आधार मान्नुपर्छ। एकै प्रकारका जिन्सी सामानहरू जुन पहिले खरिद भएको हो त्यसलाई पहिले खर्च भएको मान्नुपर्छ र बाँकी महलको दर लेख्दा पहिले प्राप्त भएको सामान पहिले खर्च हुने मानी दर कायम गर्नुपर्छ। महिनाको एक पटक बाँकी महलमा सामानको मूल्य उतार गर्नुपर्छ। महिनाको अन्तिममा मौज्दात सामानको दर उतार गर्नुपर्छ। एकपल्ट खर्च लेखिदिएको सामान प्रयोग भई वा नभई पुनः प्रयोग हुन सक्ने अवस्थामा फिर्ता हुन आएमा उक्त सामानको पुनः दाखिला प्रतिवेदन तयार गरी पहिला खर्च लेखी दिँदाको माग फाराम नम्बर उल्लेख गरी सोअनुसार खर्च जनाइएको सामान फिर्ता प्राप्त भएको भनी उल्लेख गरी पुनः आम्दानी बाँध्नुपर्छ ।

८. खर्च भएर नजाने (खप्ने मालसमानको) जिन्सी खाता (म.ले.प.फा.नं. ४०८): खप्ने सामान भन्नाले साधारणतया एक वर्षभन्दा बढी टिकाउ हुने सामानहरूलाई बुझाउँछ। उदाहरणको लागि मेसिन, औजार, फर्निचर, सवारीसाधन आदि। यो फाराम वर्ष दिनभन्दा बढी खप्ने वा पछि लिलाम गर्दा केही मूल्य आउन सक्ने सामानहरूको अभिलेख राख्ने उद्देश्यले तर्जुमा भएको हो। यो खाता समान्यतया १० वर्षसम्म एउटै खातामा राखिन्छ। यो खातालाई सहयोग गर्न सहायक खाता राख्ने गरिन्छ ।

९. बिन कार्ड (म.ले.प.फा.नं. ४०९): यो कार्ड उपभोग्य म्याद तोकिएको र म्यादअनुसारको प्रयोग नियन्त्रणको लागि तयार गरिएको हो। यो कार्डले प्रत्येक सामानको भौतिक अवस्थाको चित्रण गर्छ। प्रत्येक वर्ष सामानको बेग्लाबेग्लै बिन कार्ड तयार गरिन्छ । सामानको विवरण र त्यसको सामान निष्काशन गर्दा बिन कार्डमा सामानको परिणाम थप्ने वा घटाइने गरिन्छ। भौतिक परीक्षण गर्दा बिन कार्डमा उल्लिखित परिमाण र भण्डारमा रहको वास्तविक सामानको गन्ती गरी विवरण तयार गरिन्छ। सामान बुझिलिने पक्षको समेत उल्लेख गर्नुपर्छ ।

१०. जिन्सी निसर्ग/ मिनाहा फाराम (म.ले.प.फा.नं. ४१०): बिग्रेको, काममा प्रयोग आउन नसक्ने, खिइएको, च्यातिएको, टुटफुट भएको, दैवी घटना वा भवितव्यद्वारा बिग्रेको, आर्थिक हैसियतले मर्मत गर्न उचित नहुने तथा हराएका सामानहरूको मिनाहाको कारबाही चलाउनको लागि जिन्सि निसर्ग/मिनाहा फारामको प्रयोग गरिन्छ।

११. जिन्सी निरीक्षण फाराम (म.ले.प.फा.नं. ४११): यो फाराम नियमानुसार जिन्सी निरीक्षण गर्दा वा आवश्यकताअनुसार कार्यालयमा रहेका जिन्सी मालसामान निरीक्षण गर्दा प्रयोग गरिन्छ ।

१२. जिन्सी सहायक खाता (म.ले.प.फा.नं. ४१२): जिन्सी मालसामानको खाताको उचित व्यवस्थापन गर्नका लागि यसको प्रयोग गरिन्छ ।

१३. जिन्सी मौज्दातको वार्षिक विवरण (म.ले.प.फा.नं. ४१३): यो फाराम वर्षभरि वा एक आर्थिक वर्षभित्र कार्यालयमा प्राप्त एवं खर्च भई बाँकी रहेको खप्ने मालसामानहरू वा खर्च भएर जाने जिन्सी मालसामानहरू निरीक्षण गरी तिनीहरूको अवस्था खुल्ने गरी वर्षको एक पटक जिन्सी मौज्दातको विवरण तयार गर्न प्रयोगमा ल्याइन्छ। यो प्रतिवेदन प्रत्येक ६ महिनामा कोष तथा लेखा नियन्त्रक कार्यालय र तालुक कार्यालयमा पठाउनुपर्छ।

– शंकरप्रसाद पन्थी (नायब महालेखापरीक्षक)

Share: 

error: ©️ यस वेभसाइटमा प्रकाशित सामाग्रीको सर्वाधिकार प्रकाशकमा सुरक्षित छ !!