विषय प्रवेश
कुनै पनि राज्य व्यवस्था सञ्चालनका लागि अर्थ वा वित्त अनिवार्य तत्वका रूपमा रहेको हुन्छ। राज्य सञ्चालनको हरेक तहमा राजस्व संकलन र राजस्वको अधिकतम सदुपयोग गर्नु एक महत्त्वपूर्ण कार्यको रूपमा रहेको हुन्छ। मुलुकको शासन व्यवस्था सञ्चालन, व्यवस्थापन, विकास निर्माण, प्रतिरक्षा, शान्ति सुरक्षा र प्रभावकारी सेवा प्रवाहका क्रियाकलापमा अर्थ व्यवस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । प्राचीन पूर्वीय अर्थशास्त्री कौटिल्यले राज्य सञ्चालनका सम्पूर्ण निकायहरू अर्थ व्यवस्थामा निर्भर रहने हुँदा सरकारी कोषप्रति विशेष ध्यान दिनुपर्छ भन्ने कुरामा जोड दिएका थिए। त्यसैगरी आधुनिक विश्व व्यवस्थामा आर्थिक व्यवस्थापनको जिम्मेवारी जनताबाट निर्वाचित जनप्रतिनिधिमुलक संस्थाबाट पारित गराउने व्यवस्था रहेको छ। तत्पश्चात् संसदले बनाएको संविधान कानुन, कार्यविधिको परिधिमा रहेर अर्थ वा राजस्वको संकलन गर्ने, खर्च गर्ने, लेखा राख्ने र लेखा परीक्षण गराउने समग्र विधि र प्रक्रियामार्फत आर्थिक प्रशासन सञ्चालन सम्बन्धी सरकारको कार्यलाई नियन्त्रित र व्यवस्थित गरिन्छ ।
वित्तीय नीति
- अर्थतन्त्रको सबलीकरणको लागि आर्थिक विकासको पक्षमा राज्यले लिने नीति नै वित्तीय नीति हो ।
- यसलाई समष्टिगत वित्तीय नीति पनि भनिन्छ। जसले आर्थिक व्यवस्थापन गर्दछ। आर्थिक व्यवस्थापनको माध्यमबाट अर्थतन्त्रलाई चलायमान बनाउन वित्तीय नीतिको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।
- करको दर निर्धारण, सरकारी बजेट, मुद्राको आपूर्ति तथा व्यवस्थापन, श्रम बजार व्यवस्थापन, राष्ट्रिय
स्वामित्व लगायत अर्थतन्त्रमा सरकारले गर्ने अनेकौ हस्तक्षेप पर्दछन्। - आर्थिक विकासमा निजी, सरकारी र सहकारीको भूमिकालाई प्रवर्द्धन गर्ने, विश्वव्यापीकरण र उदारीकरण तथा खुला बजारमुखी अर्थ व्यवस्थालाई नियमन, व्यवस्थापन र परिचालन गर्ने गरी स्वस्थ आर्थिक क्रियाकलाप कायम गर्न पनि वित्तीय नीति अख्तियार गर्ने गरिन्छ।
- देशको अर्थतन्त्रलाई मार्गदर्शन गर्ने एक बृहत नीति नै वित्तीय नीति हो ।
वित्तीय नीतिको विशेषता
१. सरकारको आर्थिक दर्शन: कुनै पनि सरकारको एक आर्थिक दर्शन वा विचारधाराको रूपमा रहेको हुन्छ। यसको माध्यमबाट समग्र आर्थिक उद्देश्य पूरा गर्ने प्रयास गरिन्छ।
२. सरकारको मार्गदर्शक सूत्रः उद्योग, व्यापार तथा वाणिज्य क्षेत्रमा अपनाउने कार्यविधि वा मार्गदर्शन हो। यसमा सरकारको उल्लेखित सबै क्रियाकलापहरू सम्मिलित रहेका हुन्छन् । देशको समग्र उत्पादन, आम्दानी, सम्पत्तिको वितरण उपयोग, स्रोत साधनको उपयोग, आयात निर्यात तथा कल्याणकारी कार्यको अभिवृद्धिसँग सम्बन्धित रहेको हुन्छ।
३. व्यापक अर्थनीतिः कृषि उद्योग, वाणिज्य, मौद्रिक, रोजगारी, जनसंख्या र वित्तीय नीति जस्ता आर्थिक क्षेत्रसँग सम्बन्धित विभिन्न किसिमका नीतिहरू यस अन्तर्गत पर्दछन्।
४. विभिन्न नीतिसँगको समन्वयः वित्तीय नीतिले आर्थिक नीतिसँग सम्बन्धित विभिन्न नीतिहरूसँग समन्वय गरी आर्थिक लक्ष्य र उद्देश्यहरू पूरा गर्ने कार्य गर्दछ।
५. आर्थिक उद्देश्य प्राप्त गर्ने साधनः यो नीति राज्यद्वारा आर्थिक लक्ष्य तथा उद्देश्य प्राप्त गर्न, जनताको विकास, समृद्धिको इच्छा, जनआकांक्षा पूरा गर्न अपनाइने प्रभावकारी साधन हो।
६. प्रशासनिक मार्गदर्शनः वित्तीय नीतिको मार्गदर्शनभित्र रही प्रशासनिक संयन्त्र यसको उद्देश्य प्राप्तितर्फ अग्रसर हुन्छन्।
७. विशिष्ट उद्देश्य र निश्चित कार्यक्रमबीचको सम्बन्धः सरकारले आफ्नो विशिष्ट उद्देश्य प्राप्त गर्नको लागि कुनै निश्चित कार्यक्रम अपनाउने गर्दछ।
८. सामाजिक नीति एवं राजनीतिक नीतिबाट प्रभावितः वित्तीय नीति सामान्यतया सामाजिक तथा राजनीतिक नीतिबाट प्रभावित हुने विषय हो।
वित्तीय नीतिको उद्देश्य
- आर्थिक वृद्धिदर विकास तथा संकटलाई कम गर्नु,
- देशमा विनिमय दर र आर्थिक स्थिरता कायम गर्नु,
- कमजोर पिछडिएको क्षेत्रको विकास गर्नु,
- औद्योगिक विकास र विस्तारमा विशेष ध्यान दिनु,
- आधारभूत सेवा सुविधाको विकास तथा निर्यातमा अभिवृद्धि गर्नु,
- सामाजिक सद्भाव कायम तथा गरिबी निवारण गर्नु।
वित्त नीति
- अर्थतन्त्रको सुदृढीकरण गर्नको लागि सार्वजनिक खर्चको प्रभावकारी व्यवस्थापन, कर निर्धारण र कर्जाको प्रभावकारी व्यवस्थापन गर्ने नीति,
- निर्दिष्ट आर्थिक उद्देश्य हासिल गर्न सरकारबाट सार्वजनिक आय र व्ययतर्फ अपनाउने रणनीति र कार्यनीति,
- बजेट, राजस्व परिचालन, खर्च व्यवस्थापन र सार्वजनिक कर्जा व्यवस्थापन (बजेट, कर, खर्च र कर्जा) गर्ने नीति।
वित्त नीतिको उद्देश्य
- आर्थिक वृद्धिदर उच्च बनाउनु,
- समष्टिगत आर्थिक स्थायित्व र स्थिरता कायम गर्नु,
- सामाजिक न्याय कायम गर्नु तथा बेरोजगारी र गरिबी न्यूनीकरण गर्नु,
- बचतमा वृद्धि र पुँजी निर्माण गर्ने,
- मुद्रास्फीतिको समस्या समाधान तथा आय र सम्पत्तिको वितरण गर्ने,
- मूल्य नियन्त्रण तथा सार्वजनिक खर्च व्यवस्थापन गर्ने।
मौद्रिक नीति
- कुनै निश्चित आर्थिक उद्देश्य प्राप्त गर्नको लागि मुद्राको आपूर्ति नियन्त्रण गर्न केन्द्रीय बैंकले अपनाउने नीति,
- मौद्रिक र ब्याजदर व्यवस्थापन, वित्त क्षेत्र भुक्तानी प्रणालीमा सन्तुलन, विदेशी विनिमय व्यवस्थापन र वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गर्ने नीति,
- मुद्रास्फीति नियन्त्रण र मौद्रिक स्थिरता कायम राख्न अर्थतन्त्रको माग एवं आपूर्तिको अवस्था अनुसार ब्याजदर र कर्जा सम्बन्धमा अवलम्बन गर्ने नीति,
- नेपालमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ जारी भएपछि आ.व. २०५९/०६० बाट नेपाल राष्ट्र बैंकले सरकारले बजेट पारित गरेपश्चात् सो बजेटलाई अनुकुल हुने गरी मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ।
- नेपाल राष्ट्र बैंकले आ.व. २०८१/०८२ को मौद्रिक नीतिमा मुद्रास्फीतिलाई नेपाल सरकारले बजेटमा ५५% भित्र रहने गरी तर्जुमा गरेको र सोही बजेटलाई सहयोग पुग्ने गरी ५% कायम गरेको गरेको छ। साथै ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंक दरलाई ७% बाट ६.५% र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५ प्रतिशतमा कायम गरेको छ। व्याजदरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखिएको छ।
- नेपाल राष्ट्र बैंकले आ.व. २०८१/८२ को मौद्रिक नीतिमा असल कर्जामा गर्नुपर्ने विद्यमान १.२०% कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१०% कायम गर्ने।
मौद्रिक नीतिको उद्देश्य
मौद्रिक नीतिमा कस्तो उद्देश्य लिने भन्ने विषयमा सो देशको समग्र अर्थ व्यवस्थाको स्वरूप, विकासको स्तर र आर्थिक संरचनाले निर्धारण गर्दछ। आर्थिक विकासको निश्चित चरणमा पुगिसकेपछि मुलुकमा मौद्रिक नीतिको उद्देश्य आर्थिक स्थिरतामा मात्र हुने गर्दछ। त्यसमा पनि धेरैजसो मुलुकले मुद्रास्फीति नियन्त्रणलाई लक्ष्यको रूपमा लिएको पाइन्छ । यसरी एउटै समयमा विभिन्न देशहरूमा भिन्नाभिन्नै प्रकारको मुद्रास्फीतिको प्रयोग छुट्टाछुट्टै उद्देश्य प्राप्तिका लागि प्रयोग भएको पाइन्छ। तर नेपालमा मूल्य स्थिरता, मुद्रास्फीति नियन्त्रण भुक्तानी सन्तुलन तथा वित्तीय क्षेत्रको सुधारको लागि प्रयोग भएको पाइन्छ ।
सामान्यतया विकासोन्मुख देशको मौद्रिक नीतिको उद्देश्यलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
- मूल्य स्थिरता कायम गर्नु,
- विनिमय दर स्थिरता कायम गर्नु,
- मौद्रिक तटस्थता (मुद्रा कम/बढी नभई सन्तुलनमा राख्ने) कायम गर्नु,
- पूर्ण रोजगारीको सिद्धान्त अवलम्बन गर्नु.
- आर्थिक विकासमा तीव्रता दिनु,
- सरकारको वित्त नीति तथा बजेटको प्रभावकारी कार्यान्वयन गर्न भूमिका निर्वाह गर्नु ।
वित्तीय नीति, वित्त नीति र मौद्रिक नीतिबीच अन्तरसम्बन्ध
- वित्त नीति र मौद्रिक नीति वित्तीय नीतिबाट निर्देशित हुन्छ:
वित्तीय नीति बृहत् हुन्छ भने वित्त र मौद्रिक नीति यसको महत्त्वपूर्ण पक्षको रूपमा रहेको हुन्छ। मौद्रिक नीति र वित्तीय नीति कुनै पनि मुलुकको वित्तीय नीतिको महत्त्वपूर्ण उपकरणहरू हुन्। मौद्रिक नीतिका उद्देश्य वित्तीय नीतिका लक्ष्य उद्देश्यभन्दा फरक हुन सक्दैनन्। - खर्च बढेमा मुद्रा आपूर्ति बढ्छ र मुद्रा आपूर्ति बढ्दा व्याजदर सस्तो हुन्छ:
सरकारले सार्वजनिक खर्च बढाउँदा बजारमा मुद्राको आपूर्ति बढ्छ र मुद्रा आपूर्ति बढ्दा ब्याजदर पनि घट्छ। ब्याजदर घट्दा जनताले सस्तोमा कर्जा प्राप्त गर्ने भएको हुँदा उत्पादन र रोजगारी बढ्ने गर्दछ। जसले उद्योगधन्दाको स्थापना हुने गर्छ। त्यसको सञ्चालनबाट सरकारले यथेष्ट राजस्व संकलन गर्न सक्छ। - वित्तीय नीतिका माध्यमबाट पूरा गर्न नसकिएका बृहत आर्थिक क्रियाकलापहरूलाई मौद्रिक नीतिबाट पूरा गर्न सकिन्छ ।
- मौद्रिक नीतिको माध्यमबाट बैंक तथा वितीय संस्थाको विकास ग्रामीण क्षेत्रको मौद्रिकीकरण, उद्योगहरूलाई विभिन्न किसिमका कर्जा सहुलियत तथा सुविधाहरू उपलब्ध गराएर वित्त पहुँचमा विस्तार गर्ने, कर्जा प्रवाह, मुद्रा बजारको संस्थागत विकास, मूल्यमा स्थिरता, पूँजी निर्माण लगानीमा वृद्धि जस्ता क्रियाकलापहरूबाट वित्त नीतिले लिएका उद्देश्यहरू हासिल भई अन्ततः समष्टिगत आर्थिक उद्देश्य प्राप्त गर्न सकिन्छ।
- वित्तीय नीतिले पनि खुला र उदार अर्थ नीति लिई बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने, सञ्चालन गर्ने र नियन्त्रण गर्दा वित्तीय कारोबारमा विश्वसनीयता र पहुँच बढ्ने तथा कर्जा प्रवाह हुने भई आर्थिक गतिविधिहरू विस्तार हुन जान्छ।
- वित्तीय नीतिका माध्यमबाट पूरा गर्न नसकिएका वृहत आर्थिक क्रियाकलापहरूलाई मौद्रिक नीतिबाट पूरा गर्न सकिन्छ।
समग्रमा मौद्रिक नीतिले आफ्ना उद्देश्यहरू पूरा गरी राष्ट्रिय आर्थिक लक्ष्यहरू पूरा गर्न सहयोग गर्ने हुँदा यी तीनैवटा नीतिहरू एकआपसमा अन्तरसम्बन्धित रहेका छन्। अतः एउटा नीतिमा भएको परिवर्तनले अर्को नीतिको प्रभावकारितामा समेत प्रत्यक्ष प्रभाव पार्ने भएकोले र नीतिगत परिवर्तन ल्याउने भएकोले कुनै पनि राष्ट्रको समग्र आर्थिक विकास र समृद्धिको लागि यी तीनैवटा नीतिको प्रभावकारी समन्वय र अन्तरसम्बन्ध हुनु जरूरी रहेको छ।
– सुरज श्रेष्ठ; नेपाल बैंक लि. का सहायक प्रबन्धक