नेपाललाई दिगो विकास लक्ष्य हासिल गर्न आन्तरिक स्रोतले मात्र पुग्दैन । नेपालले आधुनिक कर प्रणाली अवलम्बन गरेकाले राजस्वको कुल गार्हस्थ उत्पादनसँगको अनुपात २५ प्रतिशत पुगेको भएतापनि यो मात्र पर्याप्त छैन । बढिरहेको रेमिट्यान्सको कुल गार्हस्थ उत्पादन (जिडिपी) सँगको अनुपात झण्डै २५ प्रतिशत रहेकाले राष्ट्रिय बचत अनुपात ५२ प्रतिशत पुगेको तथ्याङ्क हामीसँग छ । यी सूचकहरुले मुलुकको दिगो आर्थिक विकासका लागि आन्तरिक स्रोत विगतको भन्दा बढी परिचालन भएको देखाउँछ । तथापी यस क्षेत्रमा लगानी गर्नुपर्ने रकम सधै अपुग छ ।
त्यसैले नेपालले दिगो विकासको लक्ष्य हाँसिल गर्न सकिरहेको छैन । नेपालमा दिगो विकास लक्ष्य प्राप्तिका लागि थप आवश्यक पर्ने वित्तीय स्रोत र वैदेशिक सहायता रकमबीच ठूलो खाडल देखिन्छ । अझ नेपालको ओइसीडी (अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्ट) ले विकास वित्त र परोपकारी सहायतालाई निजी क्षेत्रको पुँजी उल्लेख्य रुपमा परिचालनको माध्यमको रुपमा ब्लेन्डेड फाइनान्सलाई लिनुपर्ने बताएको छ । तसर्थ विकास खर्च नै अत्यन्तै न्युन भएको हाम्रो मुलुकमा उपभोग क्षेत्रमा जाने वित्तलाई कृषि लगायत उत्पादनमूलक क्षेत्र, लघु, साना तथा मझौला उद्योग व्यवसाय, महिला तथा समावेशी वित्त बजारको विकासतर्फ आकर्षित गर्नु ब्लेन्डेड फाइनान्सको उद्देश्य नै हो ।
जलविद्युत् लगायत अन्य नवीकरणीय ऊर्जा विकासमा निजी क्षेत्रको पुँजी लगानी समेतलाई ब्लेन्डेड फाइनान्समा समेटिनु पर्दछ । तर दिगो विकासको महत्वपूर्ण लक्ष्य प्राप्ति र व्यापार घाटा न्यूनीकरणमा प्रभावकारी भूमिका खेल्ने तथा प्रादेशिक सन्तुलन मिलाउने उद्देश्य केवल निजी लगानीले मात्रै बढवा दिनसक्ने विज्ञहरु बताउँछन । विज्ञहरुले नेपाललाई बेलेन्डेड फाइनान्स मोडलको उपकरणहरु अवलम्बन गरी पीईभीसी (Private Equity and Venture Capital) र विदेशी लगानी सहायता भित्र्याउनुपर्ने सुझाव दिन्छन् । यसले नेपालको साना तथा मझौला उद्योगसहित ठुला परियोजनामा निजी क्षेत्रको लगानीलाई प्रोत्सान गर्न ब्लेन्डेड फाइनान्स मोडलले महत्वपूर्ण भुमिका खेल्छ।
यसले निजी क्षेत्रका लगानीकर्ताले आफ्नो जोखिम न्यूनीकरण र लगानी प्रतिफल सुनिश्चित गर्न सक्छन् । समिश्रित वित्त मोडेलले जलवायु परिवर्तनजस्ता मुद्दासँग जोडिएका लगानीको अवसरलाई पनि सदुपयोग गर्न सक्छ ।
के हो ब्लेन्डेड फाइनान्स मोडेल ?
ब्लेन्डेड फाइनान्स अर्थात मिश्रित वित्त भनेको विकासोन्मुख देशहरूमा दिगो विकासतर्फ थप बजेट परिचालन गर्ने एक विकास रणनीतिक प्रयोग हो । यसले लगानीकर्ताहरूलाई वित्तीय प्रतिफल प्रदान गर्दै दिगो विकासमा योगदान पुर्याउन सहयोग गर्दछ । यस फाइनान्स मोडलले विशेषगरी ठुला परियोजनाहरूतर्फ व्यावसायिक पुँजी आकर्षित गर्छ । यो अभिनव दृष्टिकोणले विकासोन्मुख देशहरूलाई उपलब्ध स्रोतहरूको कुल मात्रालाई विस्तार गर्न मद्दत गर्दछ । नेपालमा पनि यो विषय नौलो भने होइन । नेपालले आफ्नो हिसाबले यसको अभ्यास गर्दै आएको विज्ञहरु बताउँछन ।
अर्थविद्ध डा.चन्द्रमणि अधिकारी भन्छन, ‘विश्व परिवेश र अन्तर्राष्ट्रिय विकास एजेन्डाको कार्यान्वयनका सन्दर्भमा भने ब्लेन्डेड फाइनान्स विकास वित्तको नयाँ औजारको रुपमा देखापरेको छ । यस विषयमा सरकाले उत्सुकताका साथ हेर्नुपर्छ।’ उनी भन्छन, ‘सन् १९८० को दशकपूर्व विकसित मुलुकहरुले खासगरी नेपाल जस्ता विकासोन्मुख मुलुकलाई सोझै अनुदान, सहुलियत कर्जा र प्राविधिक सहयोगका साथै वैदेशिक सहायताका नाममा विकास वित्त उपलब्ध गराउँदै आएका थिए । तर अल्पविकसित मुलुकहरुले एकातर्फ उपलब्ध गराउन खोजेको वैदेशिक सहायता पूरा प्रयोग गर्न सकेनन् भने अर्कोतर्फ यस्तो सहयोगको सदुपयोग हुन सकेन ।
त्यसपछि सन् १९८० को दशकपछि गैरसरकारी तथा अन्तर्राष्ट्रिय संघ–संस्थामार्फत सहयोग गर्ने रणनीति अवलम्बन गरे । तर विगत करिब ४० वर्षको यसप्रकारको अभ्यासले पनि अपेक्षित परिणाम ल्याउन सकेन । केही व्यक्ति तथा समूहहरुले सीमान्त रुपमा लाभ लिए तापनि दिगो विकासमा सहयोग पुगेन ।’ केही समयअघि पहिलोपटक ब्लेन्डेड फाइनान्स सम्मेलन भएको थियो । अन्तर्राष्ट्रिय लगानीकर्ता, वित्तीय संस्थाहरु, सरकारी अधिकारी र निजी क्षेत्रका विज्ञहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा प्रत्यक्ष सहभागी रहेका इन्भेष्टमेन्ट प्रोफेसनल एवंम प्रख्यात बैंकर आदर्श बजगाईँ भन्छन, ‘अब दातृ निकायले सरकार तथा गैरसरकारी संस्थाका अतिरिक्त बैंक तथा निजी क्षेत्रलाई समेत वित्तीय सहायता उपलब्ध गराउन ब्लेन्डेड फाइनान्सको अवधारणा बाहिर ल्याएको विश्लेषण हुने गरेको छ ।’
नेपालमा ब्लेन्डेड फाइनान्स मोडेल
लगानीकर्ताका लागि नेपालजस्ता फ्रन्टियर बजारहरुको जोखिम–समायोजन समीकरण परिवर्तन गर्ने तरिका र यस्तो पुँजीले गरिबी, जलवायु परिवर्तन र दिगो विकास लक्ष्य प्राप्त गर्ने चुनौतीलाई सामना गर्न सक्लान भन्ने प्रश्नको जवाफ दिँदै ग्लोबल इक्वीटी फण्डका म्यानेजिङ्ग पार्टनर डा.मनिष थापालले समिश्रित वित्त (ब्लेन्डेड फाइनान्स) को मोडललाई अगाडि बढाउन नेपालजस्ता मुलुकहरुको लागि आवश्यक रहेको बताउँछन । विभिन्न सार्वजनिक कार्यक्रमै यसको महत्वको बारेमा बुझाउँदै आएका उनी भन्छन, ‘नेपालजस्ता उदीयमान बजारहरुमा दिगो पूर्वाधारमा ठूलो मात्रामा मूलधारको पुँजी (लगानी) आकर्षित गर्न सक्छ भन्ने विश्वास हो । समिश्रित वित्त कोषको संरचना गर्ने धेरै तरिका भए पनि आधारभूत तत्व भनेको कोषले निजी पुँजीका लागि जोखिम कम गर्ने र लगानीकर्तालाई थप आकर्षक प्रतिफल प्रदान गर्ने लक्ष्य राख्नु हो ।’
डा.थापाका अनुसार नेपालजस्ता फ्रन्टियर र उदीयमान बजारमा सञ्चालन हुने पीईभीसी कोषका लागि समिश्रित वित्त मोडेलअन्तर्गत विकास वित्त संस्था वा दातृ निकायले बजारका सर्तहरुभन्दा कममा प्रारम्भिक घाटा पुँजी उपलब्ध गराउँछन् । उनले भन्दै आएका विषयहरुलाई यहाँ जोड्दा उनी भन्छन, ‘यसले निजी क्षेत्रका लगानीकर्ताले आफ्नो जोखिम न्यूनीकरण र लगानी प्रतिफल सुनिश्चित गर्न सक्छन् । समिश्रित वित्त मोडेलले जलवायु परिवर्तनजस्ता मुद्दासँग जोडिएका लगानीको अवसरलाई पनि सदुपयोग गर्न सक्छ ।’ समिश्रित वित्त मोडलमा प्राविधिक सहयोग सुविधा र क्षमता अभिवृद्धि अनुदानको व्यवस्था गरिएको हुन्छ, जसमा लगानीको साधनसँगै संरचनागत रुपमा लगानी गरिएका पोर्टफोलियो कम्पनीलाई प्राविधिक सहयोग दिने गरिन्छ ।
यसबाट थप लाभ प्राप्त हुने सम्भावना रहन्छ । नेपालकै उदाहरणको रुपमा हेर्दा ग्लोबल इक्विटी फन्डले नेपाल धितोपत्र बोर्डबाट इक्वीटी फण्डको रुपमा पहिलो साइसेन्स लिएको थियो । सोही कम्पनीले एसियाली विकास बैंक (एडीबी) बाट भायबिलिटी ग्याप फन्डिङ्ग (भीजीईफ) प्राप्त गरेको भृकुटी ग्रिड टाइड १०.५ मेगावाटको सोलार परियोजनामा २० लाख अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ । अर्को डोल्मा इम्प्याक्ट फन्ड (डीआएफ) र बिजनेस अक्सिजन (बीओटु) जस्ता पीईभीसी कोषले नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पुँजी उपलब्ध गराउन विकास वित्त संस्थाहरु (डीएफआईएस) बाट कम ब्याजदरको कोष प्रयोगमा सहयोग गरेर लगानीको जोखिम न्यूनीकरण र प्रतिफल सुनिश्चित गर्न सहयोग गर्दछ । डोल्मा इम्प्याक्ट फन्ड (डीआएफ) र बिजनेस अक्सिजन (बीओटु) जस्ता पीईभीसी कोषले नेपालमा उद्यमशीलता विकासका लागि आवश्यक पुँजी उपलब्ध गराउन विकास वित्त संस्थाहरु (डीएफआईएस) बाट कम ब्याजदरको कोष प्रयोगमा सहयोग गरेर लगानीको जोखिम न्यूनीकरण र प्रतिफल सुनिश्चित गर्न सहयोग गरिरहेको छ ।
डोल्मा इम्प्याक्ट फन्डले ७ करोड ५० लाख अमेरिकी डलरबराबरको ‘डोल्मा इम्प्याक्ट फन्ड टुु’ कोष सञ्चालन गरिरहेको छ । यो पनि ब्लेन्डेड फाइनान्स मोडलको बलियो उदाहरण हो । यस्तै स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडीसी) र डच उद्यमशील विकास बैंक (एफएमओ) को सहयोगमा एक भेन्चर क्यापिटल कोष ‘वन टु वाचले’ तीन साझेदार बैंकहरु (लक्ष्मी बैंक, एनएमबी बैंक र नबिल बैंक) मार्फत कोभिड–१९ एमएसएमई फन्ड नेपाललाई परिचालन गरेको छ । कोभिड–१९ को प्रभावमा परेर संकटको सामना गरेका साना र मझौला व्यवसायका लागि ब्याज भुक्तानी र प्राविधिक सहयोग पनि प्रदान गरेको छ । विकासोन्मुख देशका लागि व्यावसायिक लगानीलाई प्रोत्साहित गर्न ग्यारेन्टी, भीजीएफ, बिमा र मुद्रा हेजिङजस्ता समिश्रित वित्त मोडेलको उपकरणमार्फत विकास वित्त संस्था, विकास एजेन्सी, विकास बैंक र फाउन्डेसनबाट प्राविधिक सहायता र अनुदान दिएर सहयोग गरिरहेका छन् ।
यसमा पिइभिसी जस्ता फण्डहरु जुन नीजी क्षेत्रबाट सञ्चिालित छन । त्यस्ता कम्पनीहरुले स्वच्छ ऊर्जा, स्वास्थ्य सेवा, सहरी विकास र दिगो भू–उपयोग क्षेत्र सबैले फाइदा लिन सक्छन् । मिश्रित वित्त बजार बढाउन सके यी क्षेत्रमा लगानी द्रुत रुपमा अघि बढ्न सक्ने विज्ञहरुले बताउँदै आइरहेका छन् ।
बैंकिङ समाचारमा प्रकाशित मनोज रेग्मीको लेखको सम्पादित अंश